बैंकको खबर । एनआईसी एशिया बैंकले औसत आधार दरमा एक प्रतिशत प्रिमियम थप गरी सेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘NIC ASIA ATHOT Loan Against Share’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ ।
ग्राहकको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले सेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा यस सेयर कर्जा योजना सार्वजनिक गरेको जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर धितो राखेर एक सय ८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्रदान गर्ने जनाएको छ । यस योजना अन्तर्गत न्यूनतम ५० लाख रुपैयाँ देखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम उपलब्ध गराउने बैंकले जनाएको छ ।
प्रतिष्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पछिको ३ कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको छ ।
