बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसर पारेर इन्टरबैंक टेलर क्यूआर सेवा सुरु गरेको छ ।
बैंकले यस डिजिटल सेवाको माध्यमबाट ज्योति विकास बैंकमा खाता नभएका मानिसहरुले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ एपको प्रयोगबाट ज्योति विकास बैंकको जुनसुकै शाखामा गई नगद निकाल्न सक्नेछन्।
ज्योति विकास बैंकको शाखाहरुमा रहेको तोकिएको क्यूआरलाई स्क्यान गरी नगद निकाल्न पाइने यस सुविधाले सेवाग्राहीलाई थप सहजता हुने विश्वास बैंकले लिएको छ ।
यो सेवा उपयोग गर्न, सेवाग्राहीको नेपालभित्रको जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैंकिङ सुविधा सक्रिय रहेको हुनुपर्छ। ज्योति विकास बैंकमै खाता हुनुपर्छ भन्ने छैन। यस भुक्तानी सेवा प्रयोग गर्नलाई ग्राहकले आफ्नो वैध परिचयपत्र अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्ने बैंकले जनाएको छ ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
