बैंकको खबर । हिमालयन बैंकको एफपीओ बाँडफाँट भएको छ। आज (साउन १३ गते, मंगलबार) बिहान ९ बजे बैंकको कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा एफपीओ बाँडफाँट भएको हो ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल एक सय ५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको छ । असार ३१ गतेदेखि बिक्रीमा ल्याएको एफपीओको निष्काशन बन्द साउन ४ गते भएको थियो ।
बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेकोमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लगानीकर्ताहरुलाई बैंकको एफपीओ बाँडफाँट गरिएको छ।
बैंकका अनुसार कुल ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन्। बाँकी रहेको ९ कित्ता सेयर २० कित्ताभन्दा भढी माग गर्ने ९ जनामा थप एकएक कित्ता गरी बाँडफाँट गरिएको छ । नौ जना आवेदकले ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
