बैंकको खबर । नेपालमा संस्थागत बैंकिङ सेवाको शुरुवात वि.सं. १९९४ कात्तिक ३० गते नेपाल बैंकको स्थापना भएपछि भएको हो । तत्कालिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घघाटन भएको थियो ।
बैंक स्थापना हुनुभन्दा पहिले सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट गरिन्थ्यो । तत्कालिन समयमा राणा प्रधानमन्त्री जुद्धशमशेरले राजा त्रिभुवनको आज्ञापछि देशको आवस्यकता अनुरुप बैंक स्थापना गर्न पाउँदा आफ्ना लागि ठुलो अवसर भएको बताएका थिए ।
बैंक प्रतिको बुझाई नै फरक
तत्कालीन समयमा बैंक भन्ने शब्द नै नौलो थियो । धेरै कमले बैंक शब्द सुनेका थिए । अझ बैंकका बारेमा जानकारी राख्ने मानिस पाउन नै गाह्रो थियो । औपचारिक बैंकिङको नयाँ अवधारणालाई धेरै कमले मात्र बुझेका थिए । बैंक प्रतिको विश्वास पनि धेरै कममा थियो । त्यसैले बैंकको शेयर उठाउन र निक्षेप संकलन गर्न सजिलो थिएन् । त्यसबेला नेपाल बैंकले २५ लाख रुपैयाँको शेयर निष्काशन गरेकोमा ८ लाख ४२ हजारको मात्र विक्री भएको थियो ।
नेपाल बैंकको पहिलो कारोबार
नेपाल बैंक लिमिटेड स्थापनाकाल देखि नै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैंक हो । बैंक स्थापनाको पहिलो वर्ष कुल निक्षेप १७ लाख २ हजार पच्चीस रुपैयाँ संकलन भएको थियो । त्यस मध्ये चल्ती निक्षेप १२ लाख ९८ हजार ८ सय ९८ रुपैयाँ, मुद्दती निक्षेप ३ लाख ८८ हजार ९ सय ६४ रुपैयाँ र वचत निक्षेप १४ हजार १ सय ६३ रुपैयाँ थियो । कर्जा प्रवाह १९ लाख ८५ हजार रुपैयाँ थियो ।
बैंकिङ क्षेत्रको विकासक्रम
नेपाल बैंक स्थापना भएको १९ वर्षपछि वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो । त्यसपछि बैंकिङ क्षेत्रको विस्तार हुनेक्रम बढ्दै गयो । वि.स. २०१६ सालमा नेपाल औद्योगिक विकास निगमको स्थापना भयो भने २०२२ सालमा राष्ट्रिय वाणिज्य बैंक र २०२४ सालमा कृषि विकास बैंकको स्थापना भयो । २०४०को दशकपछि नेपमालमा निजीक्षेत्रको उदय भयो । पछिल्लो समय बैंकिङ क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी ढंगबाट सुचारु गर्नको लागि नेपाल राष्ट्र बैंकको ऐन २०१२ खारेज गरी आएको नेपाल राष्ट्र बैंक ऐन २०५८ ले बैंकिङ क्षेत्रको इतिहासमा नयाँ आयाम ल्याएको छ ।
अहिले नेपालमा निजी र सरकारी गरि कुल २० वटा वाणिज्य बैंकहरु छन भने १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र ५२ वटा लघुवित्त वित्तीय संस्थाहरुले मुलुकभर वित्तीय कारोबार गरिरहेका छन् । यसबाहेक एउटा पुर्वाधार विकास बैंकले पनि केन्द्रीय बैंकबाट इजाजत पाइ आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ ।
