बैंकको खबर । कुमारी बैंकले नाफामा राम्रो सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२को वित्तीय विवरणअनुसार सो वर्ष २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४५ हजार ८२९ प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८०/८१मा बैंकले जम्मा ४६ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।
बैंकले वित्तीय कारोबारमा राम्रो प्रगति गरेको भन्दा पनि नेपाल राष्ट्र बैंकले दिएको सहुलियतका कारण प्रोभिजनिङ घट्दा नाफामा उच्च दरको वृद्धि देखिएको हो । किनभने अघिल्लो आर्थिक वर्षमा ५.९६ प्रतिशत रहेको खराब कर्जा अहिले बढेर ६.४२ प्रतिशत पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक छ ।
बैंकको प्रतिशेयर आम्दानी भने २ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ । यस्तै, मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) २७.२३ गुणा र प्रतिसेयर नेट वर्थ १४२.१९ रुपैयाँ कायम छ ।
