बैंकको खबर । कर्णाली विकास बैंकको तीन अर्ब २० करोड रुपैयाँ हिनामिना प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतले पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त विभाग प्रमुख वेदप्रकाशसिंह ठकुरीलाई पनि थुनामा राख्न आदेश दिएको छ ।
राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । तर, धरौटी नबुझाएकाले उनलाई थुनामा पठाएको छ । उनी धरौटी बुझाएमा छुट्नेछन् ।
अदालतले फरार रहेका १०३ जना प्रतिवादीको हकमा म्याद तामेली जारी गर्ने निर्णयसमेत गरेको छ । अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको इजलासले बुधबार सुनुवाइपछि आदेश सुनाएको हो ।
सिआइबीले रायसँग २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रुपैयाँ, मिश्रसँग ८२ करोड ४६ लाख २९ रुपैयाँ, ठकुरीसँग २४ करोड ६३ लाख ९९ हजार रुपैयाँ र बस्नेतसँग १० करोड ८९ लाख २५० रुपैयाँ बराबरको बिगो र जरिवाना माग दाबी गरेको छ । यो प्रकरणमा कुल १०९ जनालाई प्रतिवादी बनाइएको छ ।
