बैंकको खबर । नाडा अटोमोबाइल्स एसोसिएसन नेपाल (नाडा)ले आयोजना गरेको ‘नाडा अटो शो २०२५’ मा बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरमा गाडी कर्जा दिने प्रतिस्पर्धा गरेका छन् ।

सवारीसाधन क्षेत्रमा कर्जा प्रवाह गर्दै आएका बैंकहरुले नाडाको अवसर पारेर व्यवसाय बढाउन आफ्नो उपस्थितिलाई सशक्त पारेका छन् ।
प्रदर्शनिमा कृषि विकास बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक र सानिमा बैंकलगायतका बैंकले स्टल नै राखेर कर्जाको बारेमा जानकारी पाउने सुविधा दिएका छन् । सात वटै बैंकले सवारीसाधनमा दिने कर्जाको ब्याजदरमा आकर्षक अफर दिइरहेका छन् ।
कृषि विकास बैंकले सबैभन्दा सस्तो ब्याजदर अफर गरेको छ । कृषि विकास बैंकले ६.२३ प्रतिशत ब्यामा गाडी कर्जा दिने भएको छ । यस्तै कर्जाको ०.७५ प्रतिशत प्रोसेसिङ शुल्कमा ३३ प्रतिशत छुट समेत दिएको छ ।
नबिल बैंकले पनि ७.७४ प्रतिशत ब्याजदरमा परिवर्तनीय अटो कर्जा घोषणा गरेको छ । स्थीर ब्याजदरमा कर्जा लिन चाहने ग्राहकका लागि भने ८.२५ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ ।
ग्लोबल आइएमई बैंकले परिवर्तनीय कर्जामा पनि ६.९९ प्रतिशत ब्याज तोकेको छ । यस्तै स्थिर ब्याजदरमा कर्जा लिन चाहनेहरुका लागि पाँच वर्षका लागि ८.२५ प्रतिशत ब्याजदरमा पनि अटो कर्जा अफर गरेको छ ।
हिमालयन बैंकले ८ वर्षका लागि ७.५७ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने भएको छ । यस्तै लक्ष्मी सनराइजले ७ वर्षका लागि ६.७४ प्रतिशतमा कर्जा दिनेछ । एनएमबी बैंकले पनि अटो शो अवधिभर गाडी खरिद गर्नेहरुका लागि ७.१३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिनेछ । सानिमा बैंकले ५ वर्षका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिनेछ।
