बैंकको खबर । नेपालमा मध्यम वर्गीय वा कम आम्दानी भएका परिवारका लागि बैंकबाट ऋण लिनु जीवनकै ठूलो आर्थिक निर्णयमध्ये एक हो । प्रायः यस्तो परिवारले शहरमा घर वा गाडी किन्नका लागि ऋण लिने गर्छन् । तर ऋण लिँदा धेरैले केवल ब्याजदर मात्रै हेर्ने वा आफूलाई पायक पर्ने बैंक रोज्ने गरेका छन् । कतिपयले त आफन्त वा परिचित मानिस काम गर्ने बैंकलाई सहज मान्ने गर्छन् । तर, ऋण लिँदा ब्याजदर मात्र होइन, बैंकले राख्ने विभिन्न सर्त र नियम पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । यसमा ध्यान नदिइ ऋण लिँदा लाखौं रुपैयाँ नोक्सानी हुनसक्छ ।
बैंकबाट ऋण लिँदा धेरैले केवल आफूलाई चाहिएको पैसा पाइन्छ भनेर मात्रै सोच्ने गर्छन् । तर, आवश्यक जानकारी नबुझ्दा पछि ठूलो समस्यामा पर्न सकिन्छ । ऋण लिँदाको सर्तहरू राम्ररी नबुझेमा किस्ता भुक्तानीमा कठिनाइ आउन सक्छ, जसले तपाईंको जीवनमा आर्थिक भार थप्न सक्छ । अन्ततः, ऋण तिर्न नसक्दा बैंकले धितो राखिएको सम्पत्ति लिलाम गर्नसक्ने खतरा हुन्छ । त्यसैले ऋण लिनुअघि हरेक सर्त र प्रक्रिया ध्यानपूर्वक बुझेर मात्रै निर्णय लिनु आवश्यक हुन्छ ।
ऋण लिनुअघि सोच्नुपर्ने महत्वपूर्ण पक्षहरू यसप्रकार छन् :
१. आवश्यकता मूल्यांकन गर्नुहोस्
सबैभन्दा पहिले, ऋण किन आवश्यक प-यो भन्ने बारेमा स्पष्ट हुनु जरुरी छ । घर, गाडी, व्यवसाय वा शिक्षा जस्ता उद्देश्यका लागि ऋण लिन सकिन्छ, तर भविष्यमा तिर्न सक्ने क्षमता के हो भन्ने कुरा पहिल्यै हिसाब गर्नुपर्छ । आवश्यक भन्दा बढी ऋण लिँदा पछि किस्ता तिर्न गाह्रो पर्न सक्छ । त्यसैले चाहिएको पैसा मात्रै ऋण लिनुपर्छ ।
२. आधारदर र स्प्रेडदर बुझ्नुहोस्
ऋण सस्तो वा महँगो हुनुमा आधारदर (base rate) र स्प्रेडदर महत्वपूर्ण हुन्छन् । आधारदर कम भएको बैंकबाट ऋण लिँदा ब्याज पनि कम लाग्छ । त्यस्तै, बैंकले निक्षेपमा दिने ब्याज र कर्जामा लिने ब्याजबीचको अन्तरलाई स्प्रेडदर भनिन्छ । कम स्प्रेडदर हुने बैंकमा ऋण पनि सस्तो पर्न सक्छ ।
३. ऋण रकम र सर्त जाँच गर्नुहोस्
बैंकले कस्तो सर्तमा ऋण दिने हो भनेर राम्ररी बुझ्नुहोस् । धितो राखेको सम्पत्तिको मूल्यांकनअनुसार कति प्रतिशत ऋण पाइन्छ भन्ने पनि बुझ्नुपर्छ । उमेर, आम्दानी, जागिर र क्रेडिट स्कोर आदिको आधारमा पनि ऋणको प्रकृति फरक पर्न सक्छ । आवश्यक परे बैंकको वेबसाइटमा दिइएको क्याल्कुलेटर प्रयोग गरेर आफ्नो योग्यता बुझ्न सकिन्छ ।
४. भुक्तानी सर्त जाँच गर्नुहोस्
किस्ता बुझाउने तरिका, ऋण चाँडै तिर्न चाहेमा लाग्ने जरिवाना, ऋण अर्को बैंकमा सार्दा लाग्ने शुल्क आदिबारे जानकारी लिएर मात्रै ऋण लिनुपर्छ । कतिपय बैंकले प्रशोधन शुल्क वा प्रिपेमेन्ट पेनाल्टी पनि लिने गर्छन् । यी सब कुरा बुझ्दा अनावश्यक खर्च कम गर्न सकिन्छ ।
५. ऋण छिटो स्वीकृत गर्ने बैंक रोज्नुहोस्
ऋण आवेदन छिटो स्वीकृत गर्ने बैंक रोज्दा तपाईंको आर्थिक व्यवस्थापन समयमै गर्न सजिलो हुन्छ । यसले वित्तीय अनुशासन पालना गर्न पनि सहयोग गर्छ ।
६. बीमा सम्बन्धी शर्त बुझ्नुहोस्
धेरै बैंकले ऋणसँगै जीवन बीमा वा सम्पत्ति बीमा गर्नुपर्ने शर्त राख्छन् । बीमाको प्रिमियम पनि तपाईंको खर्चमा थपिन्छ । त्यसैले बीमा गर्नुपर्ने अवस्था, दाबी गर्ने प्रक्रिया र सुविधा बारे जानकारी लिनुपर्छ ।
७. कर्जा सम्झौता ध्यानपूर्वक पढ्नुहोस्
बैंकसँग ऋण सम्झौता गर्दा त्यसमा उल्लेख गरिएका सर्त, जरिवाना, ढिलाइ शुल्क लगायतका बुँदा ध्यानपूर्वक पढ्नुपर्छ । कानुनी भाषा बुझ्न गाह्रो भए विज्ञ वा वकिलसँग सल्लाह लिन सकिन्छ । ऋण लिँदाको सम्झौतापत्रको प्रतिलिपि आफूसँग पनि सुरक्षित राख्नुपर्छ ।
८. बैंकहरूको तुलना गर्नुहोस्
एउटै प्रकारको ऋण फरक–फरक बैंकमा विभिन्न शर्त र शुल्कमा पाइन्छ । त्यसैले ब्याजदर, शुल्क, भुक्तानी अवधि आदिको तुलना गरेर मात्रै अन्तिम निर्णय लिनु बुद्धिमानी हुन्छ ।
