काठमाडौं । दशैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही दिने भएको छ । राष्ट्र बैंकले भदौ २९देखि असोज १० गतेसम्म सुकिला नोट साट्न सकिने व्यवस्था गरेको हो ।
बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने जनाएको छ ।
‘नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयहरु (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८२ भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ’, सूचनामा उल्लेख छ, ‘बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।’
चाडपर्वमा प्रयोग गर्नका लागि ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको माग हुने गरेको छ । राष्ट्र बैंकले विगत देखि नै चाडपर्वका बेला पुराना र मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ । आर्थिक वर्ष २०६७÷६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको थियो । उक्त नीतिपछि आार्थिक कारोबार गर्दा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैैंकलाई बुझाउने गरेका छन् ।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी विदेशबाट नोट छाप्ने काम गर्दै आएको छ । विदेशमा नोट छाप्नुपर्दा राज्यकोषबाट धेरै खर्च हुने भएकाले नोट सफा राख्न केन्द्रीय बैंकले अनुरोध गर्दै आएको छ ।
