काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारणकालागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता साधारण शेयर बिक्री गर्न अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको छ ।
यस्तै कम्पनीले ५ प्रतिशत (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषहरुका लागि र कम्पनीमा कार्यरक कर्मचारीहरुका लागि ३ प्रतिशत (४३ हजार ५६० कित्ता) सुरक्षित गरेको छ ।
कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्नेछ ।
आईपीओमा भदौ २५ देखि २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयभित्र माग भएजति आवेदन नपरेमा असोज ८ गतेसम्म आवेदन दिने अवधि लम्बिनेछ ।
शेयर किन्न इच्छुक सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
