काठमाडौं। जेनजी आन्दोलनमा सोमबार कम्तीमा १४ जनाको ज्यान गएको छ भने दर्जनौंको संख्यामा घाइते भएका छन् । घाइतेहरूको संख्या यकिन छैन।
नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रवेश गरेका एक प्रदर्शनकारीको त्यहीँ मृत्यु भएको र विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये थप १३ जनाले ज्यान गुमाएको प्रहरी स्रोतले जनाएको छ।
सबैभन्दा धेरै मृत्यु राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना भएको पुष्टि भएको छ। यस्तै, एभरेष्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३ जना, सिनामंगलस्थित केएमसी अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ जनाको निधन भएको छ।
आन्दोलनमा सहभागी प्रदर्शनकारीसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीका दर्जनौँ सुरक्षाकर्मी पनि घाइते भएका छन्। उनीहरूको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।
घाइतेहरूको चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विरामीलाई विभिन्न अन्य अस्पतालमा रिफर गरेको छ। त्यस्तै, सिभिल अस्पतालमा निधन भएका केहीलाई समेत अन्य अस्पतालमा सारिएको जनाइएको छ।
हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन। प्रहरी टोलीले विभिन्न अस्पतालमा पुगेर मुचुल्का उठाउने काम जारी राखेको छ।
