काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सोमबार जेनजी आन्दोलनका क्रममा भएको दमनप्रति असन्तुष्टि जनाउँदै मन्त्री पदबाट राजीनामा दिएका छन्।
नेपाली कांग्रेसबाट धादिङ–२ बाट प्रतिनिधिसभामा निर्वाचित अधिकारीले २०८१ असार ३१ गतेदेखि मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनले आफ्नो राजीनामापत्रमा अहिंसालाई लोकतन्त्रको प्राण बताउँदै सरकारले युवापुस्तामाथि गरेको दमनले लोकतन्त्र होइन तानाशाहीतर्फ देश उन्मुख भएको देखिएको उल्लेख गरेका छन्।
“देश निर्माणमा सहकार्य गर्नु पर्ने पुस्तासँग युद्धजस्तो व्यवहार भएको देख्दा सरकारमा बसिरहन मेरो नैतिकता अनुमति दिन सक्दैन,” उनले लेखेका छन्। आन्दोलनमा भएका हत्या र दमनप्रति आपत्ति जनाउँदै उनले पदीय जिम्मेवारीमा रहनु अपराधबोध हुने भन्दै राजीनामा दिएका हुन्।
अधिकारीले लोकतन्त्रमा नागरिकको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने बताएका छन्। साथै, नेता–कार्यकर्ताले भन्दा पनि जनता नै सर्वोच्च हुने चेतना सबैमा विकास होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
