काठमाडौं । जेनजीले आजपनि देशभर आन्दोलन चर्काएका छन्। राजधानी उपत्यकाका तीनै जिल्लामा कर्फ्यू जारी गरिएको भए पनि उनीहरुहरूले चोकचोकमा प्रदर्शन जारी राखेका छन्।
उपत्यका बाहिर पनि विभिन्न जिल्लामा युवा सडकमा उत्रिएका छन्। राजनीतिक दलका नेता र पार्टी कार्यालयहरू प्रदर्शनकारीको निशानामा परेका छन्।
ललितपुरको खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीको एक समूह पुगेर गेट तोडफोड गरेको छ। उनीहरू घरभित्र प्रवेश गर्ने तयारीमा रहेका बेला सुरक्षाकर्मीले हस्तक्षेप गरेको थियो।
त्यस्तै, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको सुनाकोठीस्थित निवासमा प्रदर्शनकारीहरूले आगजनी र ढुंगामुढा गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासतर्फ जाँदै गरेका प्रदर्शनकारीलाई प्रहरीले रोकाएको छ। भक्तपुर दरबार स्क्वायर क्षेत्रमा युवाहरूले प्रहरीलाई लखेटेका छन्।
काठमाडौं बाहिर पनि विभिन्न जिल्लामा राजनीतिक दलका कार्यालयहरूमा तोडफोड र आगजनी भएका खबरहरू आएका छन्।
