काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला दिनमा भड्किएको आन्दोलनलाई शान्तिपूर्ण बनाउँदै समस्या समाधान देशभित्रै खोज्नुपर्नेमा जोड दिएका छन्।
उनको संवाद सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएका घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा युवापुस्ताले उठाएका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घाइते पार्नु शान्तिप्रिय नेपाली समाजको परम्परा विपरीत भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘देश र समाजका लागि केही राम्रो गर्ने उद्देश्यले अगाडि बढेका किशोर–किशोरी तथा युवा युवतीले भदौ २३ गते काठमाडौंसहितका प्रमुख शहरमा प्रदर्शनमार्फत पोखेको आक्रोश गम्भीर चासोको विषय हो।’
पूर्वराजाले आन्दोलनलाई हिंसात्मक वा अराजक हुन नदिन र बाह्य हस्तक्षेपबाट जोगाउन सबैलाई आग्रह गरेका छन्। साथै, उनले सुशासन र आर्थिक अनुशासनका मागलाई गम्भीरतापूर्वक लिई समाधानका लागि देशभित्रकै बाटो खोजिनुपर्ने धारणा व्यक्त गरेका छन्।
विज्ञप्तिमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
