बैंकको खबर । नेपालमा नेपाल राष्ट्र बैंक केन्द्रीय बैंक हो । यो बैंकहरुको बैंक हो । त्यसैले बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि राष्ट्र बैंकबाट इजाजत लिनुपर्छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विभिन्न चार वर्गमा वर्गीकरण गरेर सञ्चालनमा आउन दिएको छ ।
वाणिज्य बैंकहरुलाई ‘क’ वर्गका बैंक भनिन्छ । विकास बैंकलाई ‘ख’ वर्गका वित्तीय संस्था र फाइनान्स कम्पनीहरुलाई ‘ग’ वित्तीय संस्था भनिन्छ । यसैगरी लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गका वित्तीय संस्था भनिन्छ । यि संस्थाहरु नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र पाएका संस्था हुन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरु फरक फरक संस्था हुन् । यि संस्थाले दिने सेवा र ब्याजदर फरक हुन्छ ।
यहाँ कुरा गरौं, लघुवित्त वित्तीय संस्थाको । किनभने लघुवित्त वित्तीय संस्था मुख्य रुपमा ग्रामिण तथा कमजोर आर्थिक वर्गलाई सस्तो कर्जामा पहुँच उपलब्ध गराउने संस्था हुन् । लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ । लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइ मा गुनासो दर्ता गर्न सकिन्छ ।
वित्तीय कारोबार गर्दा आफ्नो अधिकार जानौं र सही सेवा लिन सिकौं । वित्तीय साक्षर बनौं, सुरक्षित बनौं ।
