काठमाडौँ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले अबदेखि सूचकांक गणना अन्तिम कारोबार मूल्यकै आधारमा गर्ने भएको छ।
बोर्डको मिति असोज ४ को पत्र र धितोपत्र सम्बन्धी ऐन २०६३ दफा ८७(१) बमोजिमको निर्देशनअनुसार धितोपत्र कारोवार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११(७) मा गरिएको पुरानो व्यवस्था स्थगन गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यसअघि हरेक कारोवार दिनको सत्रमा दिउँसो २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था थियो। सो अवधिमा कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिन्थ्यो।
तर, नयाँ व्यवस्थाअनुसार अब सूचकांक गणना सीधै अन्तिम कारोबार मूल्यका आधारमा हुनेछ। यो प्रावधानको प्राविधिक परीक्षण आज (असोज ५)मा सम्पन्न गरिने र असोज ६ मा मा सार्वजनिक बिदा परेकोले तत्पश्चातको पहिलो कारोबार दिनदेखि लागू हुने नेप्सेले जनाएको छ।
