काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आज (असोज ७ गते) देखि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक उद्योग प्रभावित क्षेत्रका बासिन्दाले असोज २१ गतेसम्म आवेदन दिनुपर्नेछ । सो अवधिसम्म स्थानीयलाई छुट्याएको शेयरजतिका लागि आवेदन नपरेमा निष्काशन अवधि कात्तिक ९ गतेसम्म लम्बिनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन बन्द छिटोमा असोज १० गते हुनेछ भने ढिलोमा असोज २१ गते हुनेछ।
भदौ २९ गतेदेखि आईपीओ निष्काशनको तयारी गरेपनि देशमा उत्पन्न परिस्थितिका कारण कम्पनीले कम्पनीले त्यसबेला निष्काशन गर्न सकेको थिएन् । त्यसैले आजदेखि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। चितवनको रत्ननगर नगरपालिकामा रहेको उद्योगले त्यस क्षेत्रका स्थानीयका लागि २ प्रतिशत शेयर निष्काशन गरेको हो ।
स्थानीयले २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर पाउनेछन् । शेयरमा रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका स्थानीयले आवेदन दिन सक्नेछन् ।
यस्तै सर्वसाधारणलाई छुट्याएकोमध्ये १० प्रतिशत अर्थात ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याएको छ ।
यस्तै कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
