काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ रहेको स्पष्ट पारेकी छन् ।
सिंहदरबारबाट आज (२०८२ असोज ९ गते बिहीबार) पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारका कुनै पनि निकायमा ढिलासुस्ती, भ्रष्टाचारजन्य वा झञ्झटपूर्ण कार्य भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै तीनै तहका सम्बन्धित सरकारी निकायमा उजुरी दिन ‘हटलाइन’को प्रबन्ध गरिएको जानकारी दिइन् ।
प्रधानमन्त्री कार्कीले संविधान संशोधनसम्बन्धी मुद्दाको सम्बोधन जननिर्वाचित संसद्बाट गर्न आग्रह गर्दै जेनजी समूहको आन्दोलनको मर्म र भावनाबमोजिम सरकार सञ्चालन गरिरहेकोले सहयोग गन सबैसँग आग्रह गरिन् ।
प्रधानमन्त्री सुशिला कार्कीले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचनमा भाग लिन सबै देशबासीलाई आव्हान पनि गरिन् । सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले ६ महिनाको कार्यादेश पाएको सरकारले आन्दोलनको मर्म अनुसारका सबै काम गर्न सम्भव नभएको भन्दै सकेसम्मका काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा कतिपय संबिधानमा रहेका व्यवस्था बाहिरका विषयलाई निर्वाचनमा भाग लिएर नयाँ संसदबाट संबिधान संशोधन गरेर पुरा गर्न आग्रह गरेकी छन् । साथै प्रधानमन्त्री कार्कीले आन्दोलनको क्रममा भएका सरकारी संरचनाको पुनर्निमाण गर्न सरकारले खडा गरेको कोषमा सहयोग गर्न पनि अपिल गरेकी छन् ।
उनले आन्दोलनका क्रममा भएका लुटपाट, तोडफोड, आगजनी, दमनको छानबिन गर्न आयोग गठन गरेको, आन्दोलनका क्रममा नेताहरुको घरमा भेटिएका रकमको बारेमा छानबिन शुरु भएको र विगतमा भएका भ्रष्टाचारका प्रकरण बारे पनि सरकारले जानकारी हासिल गरेको र यसमा कारवाही थाल्ने बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले युवा पुस्ताको भावना अनुसार सबै राष्ट्र सेवक कर्मचारीलाई आफुलाई परिवर्तन गरेर सेवा दिन आग्रह गरेकी छन् ।
