काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।
यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ वितरण गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीको जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ को ४० प्रतिशत अर्थात ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर (५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ) निष्काशन गर्न अनुमति पाएको थियो ।
कम्पनीले उद्योग प्रभावितका लागि २ लाख ६१ हजार ६२९ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ४ लाख ९७ हजार ९२ कित्ता शेयर बिक्री गरी बाँडफाँट गरिसकेको छ। यस्तै, १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि र २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
बाँकी ४० लाख ७६ हजार १५६ कित्ता साधारण शेयर (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ) सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।
कम्पनीको शेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन कात्तिक २३ गतेसम्म हुनेछ । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा आवेदन दिने अवधि मंसिर ३ गतेसम्म लम्बिने छ ।
आईपीओ निष्काशनका लागि कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत आवेदन दिन सक्नेछन्।
