बैंकको खबर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा घटेको छ ।
बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत कमा हो । गतवर्ष पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकहरुले १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ कमाएका थिए ।
विवरणअनुसार १५ वटा बैंकहरुको नाफा घटेको छ । एक वटा वाणिज्य बैंक नोक्सानीमा पुगेको छ । सिटिजन्स बैंक इन्टरनेसनल २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ ।
ग्लोबल आईएमईको नाफा सबैभन्दा धेरै
ग्लोबल आइएमई बैंक लिमिटेड सर्वाधिक नाफा कमाउने बैंक बनेको छ । बैंकले पहिलो त्रैमासमा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत धेरै हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको थियो । यसपटक नबिललाई उछिन्दै ग्लोबल आईएमई पहिलो बनेको हो । नबिलले गत असोजसम्म १ अर्ब ७५ करोड रुपैयाँ कमाएको छ ।
सिटिजन्स बैंक घाटामा
सिटिजन्स बैंक इन्टरनेशनल नोक्सानीमा देखिएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कुल २२ करोड ४ लाख रुपैयाँ नोक्सानी छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १९ करोड ८२ लाख रुपैयाँ थियो ।
नाफा घटेको बैंकहरू
समीक्षा अवधिमा नोक्सनीमा गएको सिटिजन्स बैंक बाहेक १४ वाणिज्य बैंकहरूको नाफा पनि घटेको छ । कृषि विकास बैंकको सबैभन्दा धेरै नाफा ९६.९९ प्रतिशत घटेको छ । यो बैंकले जम्मा ५७ लाख रुपैयाँ कमाएको छ । यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि उच्च दरमा घटेको छ । विवरणअनुसार नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा पनि ९६.९२ प्रतिशत घटेर ४ करोड ५० लाख रुपैयाँमा झरेको छ । गतवर्ष पहिलो त्रैमासमा बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ कमाएको थियो ।
यसपछि प्रभुबैंकको नाफा ४६.३३ प्रतिशत, नेपाल एसबीआईको ३८.४३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ३८.०४ प्रतिशत, एनएमबी बैंकको २०.०४ प्रतिशत, स्टान्डर्ड चार्टर्डको १९.७२ प्रतिशत, माछापुच्छ्रे बैंकको १६.९५ प्रतिशत, सिद्धार्थ बैंकको १५.१८ प्रतिशत, नबिल बैंकको १४.५७ प्रतिशत, हिमालयन बैंकको ३.२४ प्रतिशत, नेपाल बैंकको २.३१ प्रतिशत, प्राइम कमर्सियल बैंकको २.२० प्रतिशत र कुमारी बैंकको २.०१ प्रतिशत नाफा घटेको छ ।
नाफा बढाउने बैंकहरु
राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै २९५.७२ प्रतिशत बढेको छ । बैंकले पहिलो त्रैमासमा ५९ करोड ८७ लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ करोड १३ लाख रुपैयाँ कमाएको थियो ।
राष्ट्रिय वाणिज्य बैंकपछि सबैभन्दा धेरै नाफा बढाउनेमा सानिमा बैंक छ । यो बैंकको नाफा एक वर्ष अघिको तुलनामा ३३.९८ प्रतिशत बढेको छ । सानिमाले कुल ४५ करोड ४९ लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले ३३ करोड ९५ लाख रुपैयाँ कमाएको थियो । यसपछि धेरै नाफा बढाउनेमा ग्लोबल आइएमई बैंक २२.९२ प्रतिशत, एनआईसी एशिया बैंक १०.५३ प्रतिशत र एभरेष्ट बैंक ४.५७ प्रतिशत बढेको छ ।
