काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ ।
गत असोज महिनामा मात्र दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
पछिल्लो तीन महिना अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४५९ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ ।
