काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार देशको मुद्रास्फीति दर उल्लेखनीय रूपमा घटेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार गत असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत मात्र रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यो दर ४.८२ प्रतिशत थियो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.२६ प्रतिशत थियो ।
खाद्य समूहमा ऋणात्मक मुद्रास्फीति
गत असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक देखिएको छ। यद्यपि, यस समूहभित्र, घ्यू तथा तेलको सूचकांक ७.७५%, गैर–मदिराजन्य पेय पदार्थ ३.७१% र माछा तथा मासु ३.१५% ले वृद्धि देखाएका छन् ।
तरकारी उप–समूहमा मुद्रास्फीति १५.६३% ले घटेको छ भने मरमसलामा ७.८२%, दाल तथा गेडागुडीमा ४.४१% कमी देखिएको छ ।
गैर–खाद्य तथा सेवा समूहमा ३.८०% वृद्धि
गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दर ३.८० प्रतिशत पुगेको छ । उपसमूहहरूमा, विविध वस्तु तथा सेवामा १५.५१% वृद्धि, शिक्षा ७.६७%, कपडा तथा जुत्ताचप्पल ६.२९%, सुर्तीजन्य पदार्थ ४.८४%, फर्निसिङ तथा घरायसी उपकरण ४.५५%, बीमा तथा वित्तीय सेवा उपसमूह भने ०.२३% ले घटेको छ ।
ग्रामीण र सहरी क्षेत्रको अवस्था
ग्रामीण क्षेत्रः १.२९% मुद्रास्फीति
सहरी क्षेत्रः १.५३% मुद्रास्फीति
प्रदेशगत मुद्रास्फीति दर
कोशीः २.३३%
मधेशः १.२०%
बागमतीः १.१३%
गण्डकीः १.१६%
लुम्बिनीः १.८९%
कर्णालीः १.९१%
सुदूरपश्चिमः ०.६९%
भौगोलिक क्षेत्रमा मुद्रास्फीति
काठमाडौं उपत्यकाः १.४३%
तराईः १.२९%
पहाडः १.५०%
हिमालः २.३३%
