बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा साढे तीन अर्ब रुपैयाँ भन्दा बढी रकम निक्षेप लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले लगानी सम्बन्धी सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रुपैयाँ लगानी गर्न लागिएको जनाएको छ ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले ब्याजदर सहित लिन चाहने रकम खुलाई मंसिर ३ गतेभित्र प्रस्ताव गर्न सक्ने जनाएको छ । राष्ट्र बैंकले यो रकम २०२५ नोभेम्बर २३ देखि २०२६ नोभेम्बर २३ सम्म ३६६ दिनको मुद्दती निक्षेपमा राखिने जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकहरुमा दुई अर्ब ८२ करोड ४० लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुमा ५२ करोड ९५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरुमा १७ करोड ६५ लाख रुपैयाँ लगानी गर्नेछ ।
यो निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ । यस्तै खुद तरल सम्पत्ति अनुपात राष्ट्र बैंकले निर्धारण गरेबमोजिम हुनुपर्ने, अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको ६ महिना पुरा भएको, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्या ग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पुरा भएको हुनुपर्छ । यसबाहेक सर्वसाधारणका लागि छुट्याएको शेयर पनि जारी गरिसकेको हुनुपर्नेछ ।
