बैंकको खबर । नेपाल राष्ट्र बैंकले ४३ करोड थान नयाँ रु. १,००० दरका बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि चीनको सरकारी कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कार्पोरेशन सँग सम्झौत गरेको छ ।
नोट छपाइका लागि कुल एक करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा करार सम्झौता भएको जानकारी गराएको छ ।
राष्ट्र बैंकले २०८२ भदौ १० मा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरि बोलपत्र आह्वान गरेको थियो । त्यसपछि रिपपूर्वक पेश हुन आएका बोलपत्रहरुको मूल्यांकन प्रक्रियापछि सबभन्दा न्यून मूल्याङ्कित तथा सारभूत रूपमा योग्य ठहरिएको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनलाई करारका लागि चयन गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
सम्झौता २०८२ मंसिर ११ मा सम्पन्न भएको राष्ट्र बैंकले जनाएको छ । नोट छपाइका लागि भएको सम्झौताको जानकारी दिन सार्वजनिक खरिद नियमावली, २०६४ (चौधौँ संशोधन, २०८२) को दफा १३७ तथा नोट छपाइ तथा सिक्का टकमरी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ सहित) को दफा ५४ बमोजिम सूचना सार्वजनिक गरिएको पनि बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नयाँ बैंकनोट छाप्ने प्रक्रिया आवश्यक प्राविधिक मापदण्ड, सुरक्षा आवश्यकता र अन्तर्राष्ट्रिय स्तरीय प्रतिस्पर्धात्मक प्रक्रियाअनुसार अघि बढाइएको स्पष्ट पारेको छ ।
