काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आइसीएफसी फाइनान्स र सिक्लेस हाइड्रोपावरले वितरण गर्न लागेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
आइसीएफसी फाइनान्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १९ गते बुकक्लोज गर्दैछ । भोली मंसिर १८ गते उधौली पर्व तथा यमरी पुन्हीकोलागि सार्वजनिक विदा परेकाले नेप्सेमा कारोबार हुँदैन । त्यसैले आजसम्म आइसीएफसीको शेयर किन्ने लगानीकर्ताले साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
आइसिएफसि फाइनान्सले मंसिर २९ गते, सोमबार, काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा २२ औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।
सिक्लेस हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली मंसिर १८ गते बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु साधारणसभामा सहभागी हुन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिक्लेसले मंसिर २९ गते पोखराको घारीपाटन स्थित आभ्या क्लबमा २० औँ र २१ औँ वार्षिक साधारणसभा डाकेको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर, सोको कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै बोनस शेयर वितरणपश्चात हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
