बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने ६७ वटा शाखा कार्यालयहरुको बिजनेस मिट सम्पन्न गरेको छ । बैंकले मंसिर १८ र १९ गते चितवनको सौराहामा भेला आयोजना गरेको जानकारी दिएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फबाट निभाउनुपर्ने भूमिकाहरु सम्बन्धमा बृहत अन्तक्रिया गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै हाल बैंकमा प्रचुर मात्रामा रहेको निक्षेपलाई गुणात्मक कर्जाको रुपमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रत्येक शाखाहरुद्वारा सम्भावित ग्राहकहरुको अवस्था सहित आ(आफ्ना कार्ययोजना पेश गरिएको थियो ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष ढकालले बैंकले व्यवसाय विस्तार योजनामा विशेष महत्वका साथ लाग्नुपर्ने र क्षेत्रगत सम्भावनालाई सेमेटेर व्यवसाय योजना बनाउन निर्देशन दिए ।
कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य हरिकुमार सिलवालले हाल बैंकको मानव संसाधन युवा र उर्जावान रहेको धारणा व्यक्त गर्दै यसलाई व्यवसाय विस्तारको अवसरमा बदल्न निर्देशन दिए ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हाल बैंकमा रहेको निक्षेपलाई अवसरको रुपमा सदुपयोग गरी कसरी गुणात्मक कर्जा वृद्धिमा रुपान्तरण गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउने सन्दर्भमा आफ्ना निर्देशनात्मक भनाइ राखेका थिए । उनले गुणस्तरीय कर्जा विस्तारमा शाखा, प्रदेश तथा केन्द्रीय कार्यलयमा रहेका कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा बैंकले विशेष जोड दिने स्पष्ट पारे ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले सहजकर्ताको भूमिका निभाएका थिए भने कार्यक्रमको सञ्चालन विभागीय प्रमुख आनन्द सुवेदीले गरेका थिए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले स्वागत स्वागत मन्तव्य राखेका थिए भने उपकार्यकारी अधिकृतहरु विनयरमण पौडेल, दुर्गाकुमारी कडेल र रामकुमार थापा, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायतको उपस्थिति थियो ।
