बैंकको खबर । नेपाल राष्ट्र बैंकले नागरिकहरूलाई डेबिट, क्रेडिट तथा प्रिपेड कार्डजस्ता विद्युतीय कार्डहरू लिनुअघि त्यससँग सम्बन्धित सम्पूर्ण जानकारी बुझेर मात्र लिन आग्रह गरेको छ।
राष्ट्र बैंकको जारी गरेको वित्तीय चेतनाका लागि सन्देशमार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई विद्युतीय कार्ड जारी गर्दा आवश्यक विवरण अनिवार्यरुपमा प्रदान गर्नुपर्छ । सन्देशमा भनिएको छ, ‘राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को विद्युतीय भुक्तानी कार्ड सञ्चालनसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड जस्ता विद्युतीय कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्ड प्रयोगसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउनुपर्ने उल्लेख छ ।’
बैंक तथा वित्तीय संस्थाले आवेदन फारमसँगै कार्डको प्रयोग विधि, लाग्ने शुल्क, कारोबार सीमा, सेवा शुल्क तथा कार्डसँग जोडिएका थप सुविधाहरूको विवरण ग्राहकलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
विशेषगरी क्रेडिट कार्डका प्रयोगकर्ताले ब्याजदर, ब्याज लाग्ने आधार, भुक्तानी म्याद, न्यूनतम भुक्तानी व्यवस्था लगायतका महत्वपूर्ण जानकारी अनिवार्य रूपमा बुझ्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।
राष्ट्र बैंकले वित्तीय सुरक्षासँग सम्बन्धित जोखिमलाई न्यूनिकरण गर्न ग्राहक स्वयं सजग रहनु आवश्यक रहेको बताउँदै, कार्ड सेवाबाट लाभ उठाउँदै जाँदा अनावश्यक आर्थिक भार नपर्नका लागि पूर्वजानकारी अत्यावश्यक हुने स्पष्ट पारेको छ।
