बैंकको खबर । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो ६ महिनामा बैंकको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले इम्पेरमेन्ट चार्ज वापत छुट्याउनुपर्ने रकममा कमी आएपछि नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतले बढेको हो।
यस अवधिमा बैंकले १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ। गतवर्ष पुस मसान्तमा बैंकको खुद नाफा नाफा ४६ करोड १० लाख रुपैयाँ थियो।
बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत र खुद शुल्क तथा कमिशन आम्दानी १७.१६ प्रतिशत घटेको छ । तर सञ्चालन मुनाफा ३९४.६४ प्रतिशत बढेको छ ।
इम्पेरमेन्ट चार्जमा ठूलो गिरावट देखिँदा वित्तीय विवरण यस्तो देखिएको हो । गतवर्ष ६ महिनामा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज अहिले घटेर ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ। यस्तै, प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा र मूल्य–आम्दानी अनुपात १३.५७ गुणा छ ।
यस्तै, बैंकको नाफा बढे पनि वितरणयोग्य मुनाफा अझैपनि ऋणात्मक छ । विवरणअनुसार पुस मसान्तसम्म वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक छ।

Leave a comment