बैंकको खबर । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशत कम हो। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि खराब कर्जा बढेका कारण इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा बढ्दा नाफा घट्न पुगेको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ। यससँगै इम्पेरमेन्ट चार्ज ८१ करोड ४२ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २।३८ प्रतिशत र फि तथा कमिशन आम्दानी ४.५९ प्रतिशत ले बढेको छ। कुल सञ्चालन आम्दानी ०.४३ प्रतिशतले बढे पनि, इम्पेरमेन्ट खर्च बढ्दा सञ्चालन मुनाफा २२.०५ प्रतिशतले घटेको छ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५१ पैसा ऋणात्मक रहेको छ।
नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसा घटेर ८ रुपैयाँ ६२ पैसा मा सीमित भएको छ। पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.२७ गुणा रहेको छ।
२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष पछिल्लो ६ महिनामा ४२.८६ प्रतिशतले घटेको छ। सोही अवधिमा बैंकको निक्षेप ०.४२ प्रतिशतले घटेको छ भने कर्जा तथा सापटी ०.८३ प्रतिशतले बढेको छ।

Leave a comment