बैंकको खबर । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको खुद नाफा घटेको छ ।
गत पुस मसान्तसम्म बैंकले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन एक वर्ष अघिको तुलनामा ४५.७८ प्रतिशत कम हो। गत वर्ष पुस मसान्तसम्म बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको इम्पेरमेन्ट चार्जवापत बढी रकम छुट्याउनुपरेकाले नाफामा गिरावट आएको देखिन्छ । किनभने बैंकको खुद ब्याज आम्दानी बढेको छ ।
बैंकको खुद ब्याज आम्दानी २.२८ प्रतिशत बढेको छ । तर खुद फि तथा कमिशन आम्दानी ३.२४ प्रतिशत घटेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ४.६८ प्रतिशत बढेको छ।
बैंकको खराब कर्जा एक वर्ष अघिको तुलनामा ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेपछि त्यसस्को व्यवस्थापनका लागि इम्पेरमेन्ट चार्जवापत १ अर्ब ८३ करोड छुट्याउनु परेको छ । जुन गतवर्षभन्दा १ अर्ब ३८ करोड बढी हो । जसका कारण सञ्चालन मुनाफा ४४.६८ प्रतिशत घटेको छ ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक र वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १९ पैसा ऋणात्मक छ।
बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा घटेर ४ रुपैयाँ ६३ पैसामा झरेको छ। यस्तै, मूल्य आम्दानी अनुपात ४१.६८ गुणा र प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा रहेको छ।
१५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ।

Leave a comment