काठमाडौं। दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम क्योन हीलाई घुसखोरीको मुद्दामा २० महिनाको जेल सजाय सुनाइएको छ। यो फैसला उनीविरुद्ध दायर गरिएका तीन मुद्दामध्ये एकमा आएको हो।
किम जेलमा रहेका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी हुन्। सोलस्थित जिल्ला अदालतले उनलाई विवादास्पद धार्मिक संस्था युनिफिकेशन चर्च बाट महँगो उपहार स्वीकार गरेको आरोपमा दोषी ठहर गरेको हो। ती उपहारहरूमा च्यानल ब्रान्डको ह्यान्डब्याग र ग्राफ ब्रान्डेड हीराको हार समावेश छन्।
अदालतले किमले आफ्नो पदलाई व्यक्तिगत लाभका लागि प्रयोग गरेको र विलासी उपहार स्वीकार गर्न इच्छुक रहेको ठहर गरेको छ। यद्यपि, प्रमाणको अभावका कारण उनी शेयर बजार हेरफेर तथा स्वतन्त्र राय सर्वेक्षण सञ्चालन गरेको आरोपबाट भने मुक्त भएकी छन्।
यो फैसला पूर्व राष्ट्रपति दम्पतीका लागि ठूलो धक्का मानिएको छ। युन सुक योल यसअघि नै मार्शल ल लागू गरेको र देशद्रोहको आरोपमा जेलमा छन्। किम भने विगत केही वर्षदेखि स्टक हेरफेर, नक्कली शैक्षिक डिग्री र विलासी उपहारसँग सम्बन्धित विभिन्न विवादमा तानिँदै आएकी थिइन्।
युनिफिकेशन चर्च पनि लामो समयदेखि विवादमा रहँदै आएको संस्था हो, जसको नाम पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेको हत्यासँग पनि जोडिएको थियो। दक्षिण कोरियाको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपति र उनकी श्रीमती दुवै एकै समयमा जेलमा रहेकाका छन्।

Leave a comment