बैंकको खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ६७ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ५० करोड ३१ लाख रुपैयाँको तुलनामा ३३.५७ प्रतिशतले बढी हो।
खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफामा सुधार आएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६१ प्रतिशतले घटेको छ। यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.६१ प्रतिशत र सञ्चालन मुनाफा ३५.०२ प्रतिशतले वृद्धि भएको छ।
बैंकको निष्क्रिय कर्जा अनुपात पनि सुधार भई ३.९८ प्रतिशतबाट घटेर ३.७५ प्रतिशतमा झरेको छ। यसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ८२ करोड ७१ लाख रुपैयाँबाट घटेर ६१ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १९ करोड ५२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८८ पैसा रहेको छ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी२ रुपैयाँ ५२ पैसाले बढेर १६ रुपैयाँ ८० पैसा पुगेको छ। सोही अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २०.७७ गुणा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ३५ पैसा रहेको छ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब १० करोड ८३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Leave a comment