काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।
कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ६८ हजार ९६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भइसकेको छ।
अब सर्वसाधारणका लागि कर्मचारीहरूका लागि सुरक्षित १३ हजार ७९३ कित्ता र सामूहिक लगानी कोषका लागि सुरक्षित ३४ हजार ४८४ कित्ता शेयर छुट्याई बाँकी ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गरिएको हो। यी शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिएको छ, जसको कुल मूल्य ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबर रहेको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गते बन्द हुनेछ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ५३ लाख रुपैयाँभन्दा बढी रहेको छ। यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि २६ वर्ष बाँकी रहेको छ। आयोजनाबाट साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment