काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार आइतबार बिहानदेखि लागू हुने गरी डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाइएको हो।
निगमले पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।
इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो।
निगमद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार आईओसीबाट माघ १७ गते (जनवरी ३१, २०२६) प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १२ पैसाले, डिजेलमा ४ रुपैयाँ ६६ पैसाले र एलपी ग्यासमा प्रतिसिलिन्डर ४५ रुपैयाँ ४९ पैसाले मूल्य वृद्धि भएको छ। यद्यपि, पेट्रोल र एलपी ग्यासको खुद्रा मूल्यमा परिवर्तन नगरिएको निगमले स्पष्ट पारेको छ।
यसैबीच, हवाई इन्धनको मूल्य घटाइएको छ। आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर सात अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ।

Leave a comment