काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१ र ८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले फागुन ११ गते सोमबार सिमरा, बारास्थित होटल क्लासिकमा साधारण सभा आयोजना गर्ने जनाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार माघ २८ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Leave a comment