काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सो मध्ये १५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई र १ लाख ५५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकेको छ। साथै, ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि समेत बाँडफाँट भइसकेको छ।
अब कम्पनीले कर्मचारीहरूका लागि छुट्याइएको ३१ हजार कित्ता शेयर बाहेक बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
आईपीओमा आवेदन दिन न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा फागुन १० गते र ढिलोमा फागुन १९ गते बन्द हुनेछ।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको छ। यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २७ वर्ष ५ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.२१ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता अवधि १३.४२ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment