काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ।
दोस्रो त्रैमाससम्म कम्पनीले ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ४६ करोड ८१ लाख रुपैयाँको तुलनामा २८.०३ प्रतिशतले कम हो।
यस अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १५.३७ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी ७.०९ प्रतिशतले बढेको छ। तर, खुद दाबी भुक्तानी ८.१९ प्रतिशत र कुल खर्च ९.०२ प्रतिशतले बढ्दा नाफामा दबाब परेको देखिन्छ।
नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा ४ रुपैयाँ ३० पैसा घटेर ७ रुपैयाँ ११ पैसामा सीमित भएको छ। पुस मसान्तसम्म कम्पनीको मूल्य–आम्दानी अनुपात १०८.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ८६ पैसा रहेको छ।
९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ५३ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६७ करोड ७६ लाख रुपैयाँ तथा अन्य इक्विटीमा १४ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ।

Leave a comment