काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज (चैत १५ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० करोड ४० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २४ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ।

Leave a comment