काठामाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि थप भएको छ। कम्पनीको आईपीओमा अब २०८३ बैशाख ७ गतेसम्म आवेदन दिन सकिने भएको छ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ७ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ७.२७ मेगावाटको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार ३१५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २५ करोड ७३ लाख ८० हजार ५११ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष ६ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment