काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा राहत दिने उद्देश्यले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल ले बैठकका निर्णय सार्वजनिक गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजनलाई व्यवहारिक बनाउन यस्तो कदम चालिएको जानकारी दिइन् ।
उनका अनुसार, भन्सार महसुल र पूर्वाधार विकास करमा दिइएको ५० प्रतिशत छुटसम्बन्धी निर्णय नेपाल राजपत्रमा प्रकाशित गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
सरकारले अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मूल्य दबाबलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन अपरिहार्य रहेको स्पष्ट पारेको छ । ‘मूल्य समायोजनको बाध्यता रहेको तथ्य सरकारले लुकाउँदैन,’ मन्त्री रावलले भनिन्, ‘यस्तो अवस्थामा उपभोक्तालाई केही राहत दिन करमा छुट दिने निर्णय गरिएको हो ।’
सरकारको यो निर्णयले बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्न तथा उपभोक्तामाथिको आर्थिक भार केही हदसम्म कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a comment