काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई उपचाररत अवस्थामा अस्पतालबाटै परिवारको जिम्मा लगाइएको हो ।
प्रहरीका अनुसार अब उनको स्वास्थ्य अवस्थाको मूल्यांकनका आधारमा आगामी प्रक्रिया चिकित्सकको सुझावअनुसार अघि बढाइनेछ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । पक्राउपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
यसबीच उनकी पत्नी राधिका शाक्यले गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।
सर्वोच्च अदालतले चैत २३ गते साँझ आदेश जारी गर्दै पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको अनुसन्धान चैत २६ गतेभित्र सक्न निर्देशन दिएको थियो । साथै, उक्त समयसीमाभित्र अनुसन्धान पूरा हुन नसके शर्तसहित रिहा गर्न पनि आदेश दिएको थियो ।
रिहाइपछि उनलाई लिन पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् ।

Leave a comment