काठमाडौं । आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) ले गुगल एलएलसी र मेरोजब लिमिटेड को सहकार्यमा ‘गुगल करियर प्रमाणपत्र छात्रवृत्ति कार्यक्रम २०२६’ का लागि आवेदन खुला गरेको छ।
सूचना प्रविधि तथा प्रविधिसँग सम्बन्धित क्षेत्रमा सीप विकास गर्न चाहने नेपाली सिक्नेहरूलाई लक्षित गर्दै कार्यक्रम सुरु गरिएको हो । यसअन्तर्गत देशभरका योग्य उम्मेदवारहरूका लागि ५०० वटा पूर्ण अनुदानित छात्रवृत्ति सिट उपलब्ध गराइनेछ। कार्यक्रममा सहभागी हुन पूर्वअनुभव अनिवार्य नरहेको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रम आधिकारिक एनपीओ साझेदारको रूपमा कार्यान्वयन हुँदैछ, जसमार्फत सहभागीहरूले गुगलद्वारा डिजाइन गरिएका तथा कोर्सेरा मार्फत प्रदान गरिने व्यावसायिक तालिममा पहुँच पाउनेछन्। आईसीटी फाउन्डेसन नेपाल र मेरोजबले स्थानीयस्तरमा समन्वय तथा सहजीकरण गर्नेछन् ।
आयोजकका अनुसार कार्यक्रमले सहभागीहरूलाई मार्गनिर्देशित, लचिलो र करियरमुखी सिकाइ अवसर प्रदान गर्नेछ । यसले विद्यार्थी, नयाँ स्नातक, पेशेवर, महिला, पिछडिएका तथा जोखिममा रहेका समुदायका व्यक्ति र करियर परिवर्तन गर्न चाहनेहरूलाई विशेष लाभ पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमअन्तर्गत साइबर सुरक्षा, डाटा एनालिटिक्स, डिजिटल मार्केटिङ तथा ई-कमर्स, आईटी सपोर्ट, परियोजना व्यवस्थापन, यूएक्स डिजाइन, आईटी अटोमेसन विथ पाइथन, एडभान्स्ड डाटा एनालिटिक्स, बिजनेस इन्टेलिजेन्स, एआई सम्बन्धी कोर्सहरू उपलब्ध हुनेछन्। प्रत्येक पाठ्यक्रम पूरा गर्न ३ देखि ६ महिनासम्म लाग्नेछ र अनबोर्डिङपछि ६ महिनाभित्र सक्नुपर्नेछ ।
सहभागीहरूले एक वा एकभन्दा बढी पाठ्यक्रम छनोट गर्न सक्नेछन्, तर आवश्यक समय, प्रतिबद्धता र निरन्तरता सुनिश्चित गर्नुपर्नेछ । ६० दिनभन्दा बढी निष्क्रिय रहने सहभागीको छात्रवृत्ति रद्द गरी अन्य योग्य उम्मेदवारलाई प्रदान गरिने व्यवस्था रहेको छ। कार्यक्रमको गुणस्तर कायम राख्न मासिक अनुगमन गरिनेछ र कम्तीमा ७० प्रतिशत प्रगति अपेक्षित गरिएको छ ।
आवेदन फारम २२ अप्रिल २०२६ देखि खुला गरिएको छ भने अन्तिम मिति ३१ मे २०२६ सम्म तोकिएको छ । इच्छुक उम्मेदवारहरूलाई समयमै आवेदन दिन आयोजकले आग्रह गरेको छ ।

Leave a comment