काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेपछि निजी क्षेत्रका तीन ठूला छाता संगठनले आपत्ति जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकको अवस्थाले निजी क्षेत्र त्रसित बनेको र यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘नयाँ सरकार गठनपछि मुलुकमा स्थीरता कायम भै लगानीको वातावरण बन्ने अपेक्षा गरिएको समयमा उद्यमी व्यवसायीमाथि भै रहेको धरपकड र थुनछेकबाट निजी क्षेत्र निरुत्साहित भएको छ ।’
निजी क्षेत्रले अर्थतन्त्रमा करिब ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिँदै आएको भन्दै यस्तो वातावरणले लगानी, रोजगारी, राजस्व संकलन तथा पूर्वाधार विकासमा गम्भीर असर पर्ने उल्लेख गरिएको छ।
संस्थाहरूले नियामक निकायका प्रतिवेदनका आधारमा मात्र उद्यमी व्यवसायीलाई पक्राउ गरिनु उपयुक्त नभएको भन्दै आर्थिक कसुरका सम्बन्धमा
पहिले सुन्ने र त्यसपछि मात्र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने दृष्टिकोण अपनाउन सरकारसँग आग्रह गरेका छन्।
व्यवसायीहरूले अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको र आवश्यक परेमा प्रहरीसमक्ष उपस्थित हुने जानकारी गराउँदा–गराउँदै पनि पक्राउ गरिनुले निजी क्षेत्रको मनोबल कमजोर बनाएको उनीहरूको भनाइ छ। यसले लाखौं रोजगारी, आपूर्ति शृंखला, बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीमै असर पार्ने चेतावनी पनि दिइएको छ।
महासंघ, परिसंघ र चेम्बरले सरकार निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति निर्माणतर्फ अघि बढिरहेको सकारात्मक कदमको स्वागत गरे पनि हालको धरपकडका घटनाले लगानीकर्तामा अनिश्चितता बढाएको बताएका छन्।
संयुक्त विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने सिद्धान्तको सम्मान गर्न सरकारलाई स्मरण गराइएको छ।
चार वर्षदेखि शिथिल रहेको अर्थतन्त्र हालको राजनीतिक परिवर्तनपछि पुनः चलायमान हुने अपेक्षा गरिएको अवस्थामा यस्ता गतिविधिले लगानीमैत्री वातावरण कमजोर बन्ने र आर्थिक पुनरुत्थानमा बाधा पुग्ने निजी क्षेत्रको निष्कर्ष छ।
निजी क्षेत्रले सरकारसँग विश्वास, सुरक्षा र स्थिर नीतिगत वातावरण सुनिश्चित गर्दै लगानी अभिवृद्धि र आर्थिक विकासमा सहकार्य गर्न आग्रह पनि गरेको छ ।

Leave a comment