तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहोरमैला संकलन गर्न स्थगित गरेको छ । फोहोरमैला विसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहोर उठाउन नसकेको हो ।
हाल व्यवस्थापन गरिएको जग्गामा खाडल पूरा भई वैकल्पिक स्थानको खोजी भइरहेकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म फोहोरमैला संकलन गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।
फोहोरमैलाको दिगो व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिदको अनुमति नेपाल सरकारसँग माग भएकामा हालसम्म पनि अनुमति प्राप्त हुन नसकेको उनले उल्लेख गरे । उनले भने, ‘हाल स्रोतमा वर्गीकरण गरी आएका नकुहिने फोहोरलाई कार्यालय परिसरभित्र सूक्ष्म वर्गीकरण गरी बिक्रीयोग्य सामानहरु बिक्री गरी बिक्री अयोग्य वस्तुहरुको अन्तिम विसर्जनका लागि वडा नम्बर १ गल्वुबेँसी अकला कमलडिहीमा व्यक्तिको जग्गामा अस्थायी व्यवस्थापन गरिँदै आएको छ ।‘
उक्त अस्थायी ठाउँ पनि फोहोरले भरिएपछि अर्को ठाउँ खोजी भइरहेको लम्सालले बताए । नगरपालिकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म आफूले उत्पादन गरेका फोहोरमैला घर, कम्पाउन्डभित्र सुरक्षित तवरले राख्न नगरवासीलाई आग्रह गरेको छ ।
नगरपालिकाले तीन वटा टिपर, चार वटा ट्याक्टर, एक जेसिभी, एक सक्सन ट्यांक, एक अटो र एक रिक्सा गरी ११ वटा सवारीसाधन दैनिक रुपमा सरसफाइका लागि प्रयोग गर्दै आएको छ ।
नगरपालिकाको स्थापनाको ३२ वर्ष भए पनि यहाँ फोहोरमैला व्यवस्थापन केन्द्र नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याका रुपमा रहेको फोहोरमैला व्यवस्थापन सधैँको समस्या बन्ने गरेको छ ।

Leave a comment