काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्ग आयोजनाका लागि जापानबाट थप ऋण लिएको छ । सुरुङमार्ग निर्माण सम्पन्न गर्न जापानबाट ५ अर्ब २६ करोड रुपैयाँ बराबरको थप सहुलियतपूर्ण ऋण लिने सम्झौता भएको अर्थमन्त्रालयले जनाएको छ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ५,७०० मिलियन जापानी येन बराबरको ऋण सहायता सम्बन्धी एक्सचेन्ज अफ नोट र रेकर्ड अफ डिस्कसनमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत तोरु मायेदाले हस्ताक्षर गरेका हुन् । यस्तै, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपाल प्रमुख मात्सुजाकी मिजुकीले हस्ताक्षर गरेका हुन्।
यसअघि सन् २०१६ डिसेम्बर २२ मा सोही आयोजनाका लागि १६,६३६ मिलियन जापानी येन ऋण सम्झौता भएको थियो। आयोजनाको कार्यान्वयनका क्रममा मूल्य समायोजन, सुरुङ निर्माणको परिमाण तथा डिजाइन परिवर्तन, थप निर्माण कार्य, कोभिड–१९ महामारी, स्थानीय अवरोध र विनिमय दरमा आएको उतारचढावका कारण थप बजेट आवश्यक परेको अर्थ मन्त्रालयले जनाएको छ।
सम्झौताअनुसार ऋणको ब्याजदर १.९५ प्रतिशत रहनेछ भने परामर्श सेवामा खर्च हुने रकममा ०.५५ प्रतिशत ब्याज लाग्नेछ। ऋणको भुक्तानी अवधि २० वर्ष र ग्रेस अवधि १० वर्ष रहने व्यवस्था गरिएको छ।
सरकारले बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग आगामी साउन १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। आयोजना सञ्चालनमा आएपछि काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

Leave a comment