बैंकको खबर । नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीको साउन १४ गते (बुधबार) बसेको सञ्चालक समितिको बैठकले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी साधारणसभामा पेस गर्ने निर्णय गरेको छ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार पूँजी वृद्धि गर्न हकप्रद ल्याउने तयारी गरेको जनाएको छ। प्राधिकरणले २०८१ पुस २५ गते २०८२ माघ मसान्तसम्मभित्र पूँजी वृद्धि गर्न निर्देशन दिएको थियो ।
पुनर्बीमा व्यवसायको दायरा विस्तार गर्ने, प्राधिकरणले तोकेको पुनर्बीमा सीमाभित्र सञ्चालन हुन र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बढाउन कम्पनीले अर्थमन्त्रालयको स्वीकृति लिएर शत प्रतिशत हकप्रद शेयर ल्याउने निर्णय गरेको हो।
प्रस्तावित हकप्रद शेयर आगामी वार्षिक साधारणसभाबाट पारित गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि मात्रै निष्कासन हुनेछ।
