बैंकको खबर । ३४१ मेगावाटको अर्धजलाशय बुढीगण्डकी जलविद्युत आयोजनामा १० बैंकले ऋण लगानी गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अगुवाइमा बैंकहरुले ५२ खर्ब ५० करोड रुपैयाँ ऋण लगानीका लागि बिहीबार सम्झौता गरेका हुन् ।
गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाको सीमानामा निर्माण हुने स्वदेशी लगानीको यो आयोजनामा प्रवर्धक टाइम्स इनर्जी प्रालि र बैंकहरूबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा टाइम्स इनर्जीका तर्फबाट साहस ऊर्जाका निर्देशक सुशील थापा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक्लैले यो आयोजनामा १० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । नबिल र लक्ष्मी सनराइजले ८/८ अर्ब तथा ग्लोबल आइएमई बैंकले ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । यस्तै, माछापुच्छ्रे र सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीले ४/४ अर्ब रुपैयाँ, सिटिजन्स् बैंक इन्टरनेसनल, निफ्रा र प्रभु बैंकले ३/३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
आयोजना निर्माण सम्पन्न गर्न ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा बैंकहरूले गर्ने ऋण लगानी कूल लगानीको ७० प्रतिशत हो । प्रवर्धक कम्पनीका तर्फबाट कुल लागतको २५ प्रतिशत हुन आउने १७ अर्ब ५० करोड रुपैयाँ लगानी हुनेछ ।
