बैंकको खबर । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ। बैंकले ‘‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ उपाधि प्राप्त गरेको हो।
बैंकले अत्याधुनिक प्रविधिको प्रयोग, उत्कृष्ट सेवा र ग्राहक तथा सरोकारवालाप्रति देखाएको दृढ प्रतिबद्धताको आधारमा यो उपलब्धि हासिल भएको जनाएको छ ।
डिजिटल सुरक्षालाई उच्च प्राथमिकतामा राखी सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाइएका रणनीतिहरूको कारण ‘‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड’ प्राप्त भएको बैंकले जनाएको छ । त्यस्तै, मुलुकका महत्वपूर्ण पूर्वाधार तथा विकास परियोजनामा वित्तीय साझेदारी गरेको योगदान स्वरुप ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ उपाधि प्राप्त गरेको हो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यी दुवैअवार्डहरू बैंकको सम्पूर्ण टिमको निरन्तर परिश्रम र नवप्रवर्तन प्रतिको समर्पणको प्रतिफल भएको प्रतिक्रिया दिएका छन् । उनले भविष्यमा पनि स्मार्ट र सुरक्षित बैंकिङ सेवामार्फत नेपाली बैंकिङलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य रहेको बताएका छन् ।
नबिल बैंकले हाल २५ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२१ एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । चार दशकभन्दा लामो इतिहासमा बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवा र प्रविधि भित्र्याउन महत्वपूर्ण भूमिका खेलेको छ।
