बैंकको खबर । बैंकको निक्षेप अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् ।
बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त पक्राउ परेको प्रहरीले जनाएको छ । बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
उक्त शाखाका चार जना कर्मचारीको मिलेमतोमा दुई करोड ८४ लाख ७६ हजार सात सय रुपैयाँ अपचलन भएको पाइएको थियो । उनीहरुले सो रकम अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा लगाएको खुलेको छ । रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीबार गोकुलेश्वर पुगेर अनुसन्धान सुरु गरेको थियो ।
उनीहरुले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले हिनामिना गरेको पाइएको छ । यसरी बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चारै कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अहिले बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ ।
