काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज (साउन २८ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत (१४ करोड ५२ लाख रुपैयाँ) बराबरको १४ लाख ५२ हजार कित्ता साधारण शेयर बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको १ लाख ४५ हजार २०० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि छुट्याएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म माग भएजति आवेदन नपरेमा भदौ ११ गतेसमम निष्काशन अवधि लम्बिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार न्यूनतम १० कित्तादेखि अधिकतम ७००० कित्ताका लागि आवेदन दिन सकिन्छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्छ ।
